2 Jan, 2025, Thu dccsindhuli@gmail.com (+९७७)-०४७५२०५४४(Administration)
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ मंसिर १६ गते आइतबार

जिल्ला परिचय

 

संघीय नेपालको बागमती प्रदेशमा पर्ने यस जिल्लामा ७ वटा गाउँपालिका, २ वटा नगरपालिका र ७९ वटा वडा रहेका छन् । यस जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र क्रमशः २ र ४ वटा रहेका छन् ।

नेपालको मानचित्रमा २६ डिग्री ५५ मिनेट देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांस र ८५ डिग्री १५ मिनेट देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तरका बिचमा सिन्धुली जिल्ला अवस्थित छ । यो जिल्लाको उत्तरमा रामेछाप, पूर्वमा उदयपुरदक्षिणमा सिराहा, धनुषा, महोत्तरी, सर्लाही र पश्चिममा मकवानपुर तथा पश्चिम दक्षिणमा रौतहट गरी जम्मा दशवटा जिल्लाहरू सँग सिमाना जोडिएको छ । दक्षिणमा तराई देखि उत्तरमा महाभारत श्रृंखला सम्म फैलिएको यो जिल्ला समुद्र सतहबाट १६८ मिटर देखि २७९७ मीटर सम्म अवस्थित छ ।

राणाकालमा पूर्व २ नम्बर बाट प्रख्यात यस सिन्धुली जिल्लाको उत्तरी भागमा महाभारत श्रृंखला र दक्षिणी भागमा चुरे पहाड, भित्री मधेश र बेँसीले ओगटेको छ । यस जिल्लाका प्रमुख नदीहरूमा कोशी, रोशी, बागमती, तावा, कमला, मरिण, वाक्सु, चँदाहा, बन्दिजोर, क्यानखोला, गौमती, गड्यौली, कोखाजोर, धनमना, सिम्ले, बितिजोर, अरुण, ककुर लगायत यस जिल्लामा १४९ वटा ठूलासाना नदीहरू रहेका छन् । यस जिल्लाको अधिकांश भूभाग चुरे क्षेत्रमा पर्दछ भने बाँकी भाग मध्य पहाडी क्षेत्रमा पर्ने भएकाले यस जिल्लालाई भित्री मधेशको जिल्ला भनेर समेत चिनिन्छ । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी र हरिहरपुरगढीका साथै आधुनिक वि.पि. लोक मार्गको दुई तिहाई भाग यसै जिल्लामा पर्दछन् । यस जिल्लाको औसत लम्बाई १०६ किलो मिटर र चौडाई २३.३ किलो मिटर छ तथा क्षेत्रफल 2459.३१ वर्ग किलो मिटर छ ।

समशितोष्ण हावापानी भएको सिन्धुली जिल्लाको पहाडी क्षेत्रमा हिउँदमा तुलनात्मक रुपमा ठण्डा हुन्छ । सूर्योदय र सूर्यास्तको समयमा न्यूनतम ८ डिग्री देखि अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम हुने यस जिल्ला जलवायुका दृष्टिबाट लाभदायक रहेको छ । अधिकांश भूभाग वनजंगलले ढाकेको यस जिल्लामा सर्पदंश र जंगली जनावरको आक्रमण प्रकोपका रुपमा रहेका छन् । जुनार र जंगल आर्थिक विकासको आधार मानिएको सिन्धुली जिल्ला नेपालको सबैभन्दा बढि जुनार उत्पादन गर्ने जिल्ला हो ।

जिल्लाको नामाकरण तथा ऐतिहासिक पृष्ठभूमि

सिन्धुली जिल्लाको नामाकरण सम्बन्धमा विभिन्न प्रसंगहरू जोडिएका छन् ।२००७ साल भन्दा अगाडी सम्म पूर्व २ नम्बर अन्तर्गत रहेको यस जिल्लाको नाम सिन्धुली नै किन रह्यो भन्ने सम्बन्धमा एकिन तथ्यहरू भेटिएका छैनन्।प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नाम बाट सिन्धुली रहन गएको हो भन्ने एक थरिको भनाई रहेको छ ।सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ कि.मि. को दुरीमा समुद्री सतहबाट १०७७ मिटरको उचाइमा सिद्धबाबा मन्दिर छ ।सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्घस्थली पनि भनेर पुकारिन्छ ।सिद्घस्थली भन्ने शब्द नै पछि अपभ्रंश भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ। 

भू-उपयोग

सिन्धुली जिल्लाको कुल भू-भाग मध्ये ५७.७ प्रतिशत भू-भाग चुरे पहाड क्षेत्रमा पर्दछ भने ४२.३ प्रतिशत भू-भाग मध्य पहाडी क्षेत्रमा पर्दछ । भू-उपयोगको दृष्टिकोणले यस जिल्लाको कुल क्षेत्रफलको दुई तिहाई भू-भाग वनजंगलले ढाकेको छ । उत्पादनको दृष्टिकोणले केही उर्वर भूमी भित्री मधेसको समथर फाँट, टार तथा वेसी र फाँटहरूले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनीय योगदान पुर्याएका छन् । प्रमुख रुपमा कमला क्षेत्र र मरिण क्षेत्रमा समथर कृषियोग्य भूमि रहेको छ ।

 

हावापानी

यस जिल्लाको भू-धरातलीय बनावटको परिणाम स्वरुप हावापानीमा समेत निकै विविधता पाउन सकिन्छ । यस जिल्लाको हावापानी विषम (उष्ण, अर्धउष्ण र समशीतोष्ण) रहेको छ । उष्ण हावापानी यस जिल्लाको मध्य भाग अर्थात भित्री मधेशको ६१० मिटर भन्दा होचो भागमा पाइन्छ । अर्धउष्ण हावापानी यस जिल्लाको दक्षिण खण्ड चुरे डाँडा श्रृंखलाको ६१० मिटर देखि १२२० मिटरको बिच भागमा पाइन्छ । समशीतोष्ण हावापानी यस जिल्लाको अधिकांश भागमा अर्थात देखि १२२० मिटर देखि माथिको उचाईमा रहेको पाइन्छ ।

यस जिल्ला अन्तर्गत रहेका स्थानीय तहहरु र केन्द्रको विवरणः

१. कमलामाई नगरपालिका – सिन्धुलीमाढी

२. दुधौली नगरपालिका – दुधौली

३. तीनपाटन गाउँपालिका – लाम्पन्टार

४. हरिहरपुरगढी गाउँपालिका – झनझने

५. सुनकोशी गाउँपालिका – रामटार

६. गोलान्जोर गाउँपालिका – ग्वाल्टार

७. मरिण गाउँपालिका – कपिलाकोट

८. घ्याङलेख गाउँपालिका – हायुटार

९. फिक्कल गाउँपालिका – खाङसाङ


थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ पौष १४ गते आइतबार